रामानुज जन्म सहस्राब्धी विशेष


जगद्गुरु श्रीमद्–रामानुजाचार्य

उप प्रा.श्याममणि नेपाल(महासचिव)
श्रीवैष्णव परिषद् नेपाल,
वैदिक सनातन धर्ममा भित्र शास्त्रसिद्ध अनादि परम्परामा रहेका चार प्रकारका वैष्णव सम्प्रदायहरु छन् ः श्रीवैष्णव सम्प्रदाय (रामानुज वैष्णव), ब्रह्म वैष्णव सम्प्रदाय(माध्व वैष्णव), रुद्र वैष्णव सम्प्रदाय (वल्लभ वैष्णव) र सनकादि वैष्णव सम्प्रदाय (निम्बार्क वैष्णव) । यी चारैओटा सम्प्रदायको लक्ष्य भक्ति एवं शरणागतिका माध्यमद्वारा मोक्ष प्राप्ति नै हो । यद्यपि यी चारओटै सम्प्रदायहरु अनादि परम्पराका छन् तथापि विभिन्न समयमा विभिन्न महापुरुषहरुले यस संसारमा अवतार लिएर भक्ति एवं शरणागति तत्त्वको व्याख्या गरी संसार भरि फैलाउनु भएकोले तत्तत् महापुरुषहरुको नामबाट पनि यी सम्प्रदायहरु प्रसिद्ध भएका छन् ।
यीमध्ये भक्ति एवं शरणागतिका माध्यमले नै सबैभन्दा सजिलोसँग भगवान्लाई प्राप्त गर्न सकिन्छ भनेर स्वयं श्रीलक्ष्मीजीले प्रथम उपासिका बनेर भगवान् नारायणको उपासना गरी प्रारम्भ गर्नु भएको सम्प्रदाय हो श्रीवैष्णव सम्प्रदाय । यसै सम्प्रदायमा विभिन्न आलवार (भक्त सन्त)हरु, शठकोप सूरि, नाथमुति, यामुनाचार्य आदि महापुरुषहरुले अवतार लिएर भारतवर्षलाई भक्तिको उर्वर भूमि भन्ने सिद्ध गर्नु भयो । यसै क्रममा स्वयं शेषजीले श्री रामानुजाचार्यको रुपमा अवतार लिएर यस श्रीवैष्णव सम्प्रदायलाई संसारभर सबैका लागि सुलभ बनाउनु भयो ।
श्री रामानुजाचार्यको अवतार भएपछि नै यस युगमा वैदिक सनातन धर्मको पुनरुद्धार भएको हो । श्री रामानुजाचार्यले आफ्नो जीवनकालभरि वैदिक सनातन धर्मको संरक्षण, श्रीसम्प्रदायको प्रवर्धनका लागि अतिमानुष कार्य गर्नु भएकोले नै यस सम्प्रदायलाई रामानुज वैष्णव सम्प्रदाय पनि भन्न थालिएको हो । यो वर्ष श्री रामानुजाचार्यको अवतार भएको १००० वर्ष पूर्ण भएकोले यहाँ वहाँको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ ।

१.श्रीमद्–रामानुजाचार्य स्वामीजीको संक्षिप्त परिचय

अवतार (जन्म)
श्रीमद्–रामानुजाचार्य स्वामीजीको अवतार विक्रम संवत् १०७४ (इ.सं. १०१७) वैशाख महिनाको आद्र्रा नक्षत्रमा वर्तमानमा भारतको तमिलनाडु राज्यको श्रीपेरुम्बुदूर
(श्रीभूतपूरी) भन्ने स्थानमा भएको हो । वहाँ श्रौत कर्मनिष्ठ श्रीकेशव सोमयाजी र श्रीकान्तिमतिका चतुर्थ सन्तानका रूपमा प्रकट हुनु भएको हो । श्रीरामानुजाचार्य वैैदिक सनातन परम्पराको मेरुदण्ड हुनुहुुन्छ । वहाँलाई संस्कृत र तमिलको मिलन विन्दु पनि भनिन्छ । वैदिक सिद्धान्त र पाञ्चरात्रादि तन्त्रहरूलाई संगसंगै लिएर चल्ने श्रीरामानुजाचार्य समन्वयवादी मात्र नभई महान् समन्वयकारी पनि हुनुहुन्छ । अधिकार प्राप्त व्यक्तिहरूका लागि मात्र उपदेश गरिएका वैदिक कर्मकाण्ड र उपासनाको जटिल जालभित्रबाट सर्वसुलभ भक्ति÷प्रेममार्ग र शरणागति सिद्धान्तलाई खोजी त्यसलाई दृढ शास्त्रीय आधार दिई प्रतिष्ठापित गर्ने प्रथम आचार्य श्रीरामानुजाचार्य नै हुनुहुन्छ ।
वैदिक धर्ममा वर्ग, वर्ण, लिङ्ग आदि भेद विना मानव मात्रले भक्तिसिद्धान्तको  अनुसरण गरी आफ्नो आध्यात्मिक प्रगति गर्नुपर्छ । सम्पूर्ण जीव र जगत् भगवान्द्वारा निर्मित र भगवान्को अंशरूप भएको हुनाले भगवत्प्रेमको परिपूर्ण अवस्था भागवत प्रेम (भगवत्सम्बन्धी सम्पूर्ण सृष्टिमा प्रेम) हुनुपर्ने धारणा राख्ने आचार्यले धर्मलाई लौकिक रूपमा पनि प्रासङ्गिक र अनिवार्य सिद्ध गर्नु भएको छ । अध्यात्मक्षेत्रमा भक्तिधारा दक्षिण भारतबाट प्रवाहित भएको हो । “उत्पन्ना द्रविडे चाहम्” “कलौ खलु भविष्यन्ति” इत्यादि वचनहरू यसमा प्रमाण हुन् । तमिलनाडु भक्तिधाराको उद्गम स्थल हो र श्रीरामानुजाचार्य स्वामीजी यसका प्रमुख आचार्य हुनुहुन्छ । दक्षिणको यही भक्तिसिद्धान्त पछिका समयमा अन्य महनीय वैष्णवाचार्यहरूद्वारा उत्तरमा प्रचारित भयो । मुस्लिम आक्रान्ताहरूद्वारा तहस नहस भइरहेको हिन्दू धर्म र विचलित हिन्दू चेतनालाई एक सूत्रमा बाँधेर दरिलो बनाई राख्ने काम यही भक्तिमार्गले गर्यो । त्यसैले वैष्णव समाज मात्र नभई सम्पूर्ण आधुनिक हिन्दू समाज श्री रामानुजाचार्यको यो उपकारको ऋणी छ ।

शिक्षा÷दीक्षा

श्रीरामानुजाचार्यले आफ्नो प्रारम्भिक शिक्षा आफ्नै पिताजीबाट घरमा नै प्राप्त गर्नु भयो । उपनयनादि संस्कार र वेदाध्ययन सकिए पछि वेदान्तको विशेष अध्ययन गर्न श्रीरामानुजाचार्य त्यस समयका प्रकाण्ड विद्वान् श्रीयादवप्रकाशको गुरुकुलमा पुग्नु भएको थियो । निर्विशेष अद्वैत मतका सन्यासी गुरु श्रीयादवप्रकाशाचार्यसँग वेदान्तको अध्ययन गर्ने क्रममा केही श्रुतिको अर्थमा मतभेद भएपछि तीक्ष्ण बुद्धि एवं भगवान्मा अनन्य भक्ति भएका श्रीरामानुजाचार्य गुरुकुल नै त्यागेर भगवद् सेवामा लाग्नु भएको थियो । वहाँले केही समय पछि अन्य पाँच जना भिन्न–भिन्न आचार्यहरूबाट भिन्न–भिन्न विषयको ज्ञान प्राप्त गर्नु भयो । श्री स्वामीजीका पाँच आचार्यहरू क्रमशः श्री महापूर्णाचार्य, श्री शैलपूर्णाचार्य, श्री गोष्ठीपूर्णाचार्य, श्री वररङ्गाचार्य र श्री मालाधराचार्य हुनुहुन्छ । यी पाँच आचार्यहरूका अतिरिक्त श्रीरामानुजाचार्य स्वामीजीले परमाचार्य (श्री महापूर्ण स्वामीजीका आचार्य) श्री यामुनाचार्य स्वामीजीलाई पनि आफ्नो आचार्य मान्नु भएको छ । श्री यामुनाचार्य र श्रीरामानुजाचार्यको प्रत्यक्ष रूपमा भेट कहिल्यै हुन नसके पनि श्रीरामानुजाचार्यले आफ्ना सबै कृतिहरूमा श्री यामुनाचार्यका कृपाबाट मात्रै सबै कार्यहरू सम्भव भएका हुन् भन्ने भाव दर्शाउनु भएको छ । श्रीरामानुजाचार्य स्वामीजीले आफ्ना आचार्यहरू र स्वतःफूर्त अनुभवबाट प्राप्त गर्नुभएको ज्ञान आफ्ना अनेक शिष्यहरूलाई प्रदान गर्नु भयो । तीमध्ये श्री कुरेश, श्री दाशरथी, श्री आन्ध्रपूर्ण, श्री गोविन्द र श्री धनुर्दास गरी पाँच जना प्रमुख शिष्यहरू हुनुहुन्थ्यो । जसरी वहाँका ५ आचार्यहरू प्रसिद्ध हुनुहुन्छ त्यसैगरी वहाँका ५ शिष्यहरू पनि अति नै प्रसिद्ध हुनुहुन्छ । ती शिष्य परम्पराबाट पनि यो समाज त्यति नै उपकृत छ । कृति र सिद्धान्तवेदान्तका उल्झिएका र उल्झाइएकारहस्यहरूलाई सुल्झाउँदै परस्पर विरुद्ध लाग्ने वेद मन्त्रहरूको विरोध नहुने गरी अर्थ गर्दै तथा महाभारत र रामायणका सिद्धान्तहरू समन्वयन गर्दै र दिग्भ्रमित पार्ने शैलीका अनेक  पुराणहरूको तात्पर्यलाई प्रष्ट पार्दै श्रीरामानुजाचार्यद्वारा गरिएको श्रीभाष्य रचना मानव मात्रका लागि उत्कृष्ट कर्म हो । श्रीभाष्य, वेदान्तसार, वेदान्तदीप यी तीन ब्रह्मसूत्रको व्याख्यापरक ग्रन्थहरू, शरणागति गद्य, श्रीरङ्गगद्य र श्रीवैकुण्ठगद्य यी तीन भगवत्प्रेमले आप्लावित ग्रन्थहरू, उपनिषद्हरूको अर्थलाई बताउने वेदार्थसङ्ग्रह, आचारपद्धतिको उपदेश गर्ने नित्यग्रन्थ र श्रीमद्भगवद्गीताभाष्य कुल यी नवरत्न समान  नौ ग्रन्थहरू  श्री
रामानुजाचार्यद्वारा विरचित उत्कृष्ट ग्रन्थ हुन् । यसमा श्री रामानुजाचार्यले संसारलाई मिथ्या भनेर उपेक्षा नगरीकनै श्रुतिद्वारा उपदिष्ट अद्वैत तँवलाई सिद्धान्तको रूपमा प्रतिष्ठापित गर्नु भएको छ जुन सिद्धान्त वेदान्तशास्त्रमा  विशिष्टाद्व्रैत वा सविशेषाद्वैत नामले प्रसिद्ध   छ । ब्रह्म सविशेष छ, शरीरात्मना अद्वैत छ भन्नु नै यसको सार हो । बोधायन आदि पूर्वाचार्यहरूद्वारा प्रतिपादित एवं श्री नाथमुनि, श्री यामुनाचार्य आदि आचार्यहरूद्वारा संरक्षित यस सिद्धान्तलाई श्रीरामानुजाचार्यले संवर्धन गरी जगद्व्याप्त बनाउनुभएकोले यो सिद्धान्त वर्तमानमा श्रीरामानुज वेदान्तका नामले प्रसिद्ध छ र दार्शनिक क्षेत्रमा विशिष्टाद्वैत दर्शन वा श्रीरामानुज दर्शन भनी जगत्भरी विख्यात भएको छ । 

0 comments:

Post a Comment