Showing posts with label national. Show all posts
Showing posts with label national. Show all posts
चैत्र १३ दमक  . दमकमा भरखरै भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

 मृत्यु हनेमा भारत डाईनिया सिठी बस्ने अन्दाजी ५० बर्षका सखिलाल मण्डल रहेका छन् ।

दमकको चिया बगान गेट महेन्द्र राजमार्गबाट उत्तर जाने शाखा सडकमा काठका टुना लिएर काठ मिलतर्फ जादै गरेको ना ६ ख २८९३ नं. को ट्रक उत्तर मोडिदै गर्दा दमक बजारमा मजदुरी गरेर सोही दिशातर्फ साईकलमा गइरहेका मण्डलको ट्रकले किचीएर मृत्यु भएको हो ।
४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् ।
निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् ।
यसैगरी विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।
बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।
निर्मलाको भेजिनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भेजिनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?
वैधता जाँच्न बाबुआमाको माग
निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्‍यो भन्न सकिदैन ।’
आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ । ‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’
तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् । ‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।

काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ । त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।
उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए ।
अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।
यसअघि खरिदारभन्दा तलको मुखिया पद पनि यसैगरी खारेज भएको थियो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुल्ला विज्ञापन नगराउने उल्लेख छ ।
सुब्बामा ७० प्रतिशत खुल्ला विज्ञापन
यसैबीच नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुल्लाबाट पदपूर्ति हुने गर्दथ्यो । यसैगरी कार्यक्षमताको मूल्यांकनबाट २० प्रतिशत तथा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ४० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा सुब्बा पदको कार्यसम्पादन मूल्यांकन (कासमु) र कार्यक्षमता मूल्यांकनको व्यवस्था हटाइएको छ । मस्यौदामा लेखिएअनुसार अब सुब्बा पदमा ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ ।
यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत सुब्बा सरकारी सेवामा भर्ना हुनेछन् । Onlinekhabar मा खबर छ ।


दमक । युटुब चर्चामा आएका बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । 
झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए भने बुढाथोकीले नरिवल फुटाएका थिए ।

 शिलान्यासपछि बोल्दै आर्थिक संयोजक बुढाथोकीले शुरुमा कतिपयले घर बन्दैन भन्ने गर्नु हुन्थ्यो अब घर बन्ने छ भन्दै सहयोगिहरुलाई धन्यवाद समेत दिए ।
 यसअघि कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि वडा अध्यक्ष सापकोटाले आँफुले पनि अशोकको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सापकोटाले कार्यक्रमा नगद ५ हजार सहयोग समेत गरे ।


त्यस्तै विर्तामोडको ग्यालेक्सी फिटनेसले नगद ५० हजार एक सय रुपैया सहयोग गरेको छ । फिटनेसका संचालक चन्द्र रानासँगै संदिप शेर्मा, प्रेम राजबंशी, चन्द्र लिङ्देन, रोहित गजमेर र भिम लिम्बुको टोलिले आर्थिक संयोजक टंक बुढाथोकीलाई नगद हस्तान्तरण गरेको थियो । 
कार्यक्रममा २ नम्बर वडाका वडा सदस्यहरु राजु धिमाल, टंक प्रसाद गौतम, दिपक न्यौपाने, कोषाध्यक्ष डिजे रुपक, सचिव जिवन चुडाल, समाजसेवी पदम प्रसाद सापकोटा, संचारकर्मी तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोरङमा वामपन्थीको क्लीन स्वीप टार्दै मिनेन्द्र रिजाल विजयी भइका छन । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् ।
रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि,अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।
अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका छन् । मुकुन्द नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त ।
 रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्बाही गर्ने हैन कार्बाही गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् ।
मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् ।एक युवतीले मुकुन्देलाइ यसरि ठिक पारेकी छिन् साथै भिडियो सेयर गरि मुकुन्दे भए ठाउमा पुगोस भन्ने उनको भनाइ छ

भिडियो हेर्नुहोस्
दमक । झापाको दमकमा रहेको दमक रनले आयोजना गरेको दोस्रो दमक रन मिनी म्याराथनको उपाधी पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् । आज बिहान सम्पन्न दौडमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय हुनुभयो । 

१५ किलोमीटर दूरी उनीहरुले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा पार गरे । महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीकी कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे ।
स्वास्थ्य नगर बनाउने सोचका साथ हरेक वर्ष दमक रनले यस्तो कार्यक्रम गर्ने गरेको दमक रनका कार्यवाहक अध्यक्ष तथा म्याराथुन संयोजक दिवस राईले जानकारी दिनुभएको छ ।दौडमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया“ प्राप्त गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार रुपैया“ प्राप्त गरे ।
दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो । ७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय भए । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । यो उमेर समूहका धावकहरुले ५ किलोमीटर दौडिएका थिए ।
१३ देखि १६ बर्ष उमेर समूहका धावकहरुले पनि १५ किलोमीटर दौडिएका थिए । सो विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैया“ पुरस्कार जिते ।३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रानतर्फ पुरुष मात्र सहभागी भए । उक्त विधामा धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय भए । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार पाए ।
४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय भए । उनीहरुले पनि समान क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ प्राप्त गरे । 
१० मंसिर, राजविराज । स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

सप्तरीमा २०७ मतदानस्थल अतिसंवेदनशील
स्वच्छ एवं भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार सप्तरी जिल्लामा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।
यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डयेले बताए ।
झापा । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल ९फलाहारी०लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर यो दललाई मतदान गरे वा गर्छु भनेर भन्नुभएन । राज्य पुनः संरचनापछि यसपटक फलाहारीले झापाको निर्वाचन क्षेत्र १ का उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । यसपटक पनि कुन उम्मेदवारलाई मतदान गर्छु भन्ने यकिन नगरी सकेको र मतपत्र समातेपछि मात्र निर्णय लिने उहाँले राससलाई बताउनुभयो ।

यस क्षेत्रमा एक लाख छ हजार मतदाता छन् । ती मतदातामध्ये विभिन्न राजनीतिक दलमा प्रतिबद्ध चालिस प्रतिशत पनि छैनन् यहाँका जानकारको भनाइ छ । त्यसले गर्दा यस क्षेत्रसहित झापाका प्रतिनिधि तथा प्रदेशसभाका कुन उम्मेदवारले बाजी मार्छ, त्यो थाहा पाउन निर्वाचनको नतिजा नै पर्खनुपर्ने देखिन्छ । विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनको स्मरण गर्दै बुद्ध शान्ति गाउँपालिकाका हरि न्यौपानेले भन्नुभयो, “माओवादीको संगठन नै नहुँदा पनि अत्यधिक बहुमतले यो क्षेत्रमा जितेको थियो । त्यसैगरी स्थानीय तहमा झापाका धेरै स्थानमा नेकपा ९एमाले०ले जित्दा पनि यो गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मा¥यो ।”

तीस वर्षीय युवा न्यौपानेले थप विस्तार गर्दै भन्नुभयो, “वाम गठबन्धन होस् या लोकतान्त्रिक गठबन्धन निर्वाचनको नतिजा नआईकन कुनै अनुमान लाउन सक्ने अवस्था छैन ।” उहाँले आफू स्वतन्त्र नागरिक भएकाले आर्थिक समृद्धिलाई ध्यान दिएर जनताको मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १५० ले उम्मेदवारी दिएका छन् । उनीहरुले आफ्नो राजनीतिक दलको चुनावी घोषणापत्र तथा सम्बद्ध पार्टीले लिएको नीति तथा सिद्धान्तका आधारमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील, नेपाल जनता पार्टीसहित स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ती राजनीतिक दलले आफ्नै नारा तथा चुनावी एजेण्डा बनाएका छन् । प्रथम चरणमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्दैैछन् । त्यसमध्ये झापाका पाँच लाख ८५ हजार २३६ मतदाताले ६९२ मतदान केन्द्र तथा २८३ मतदानस्थलमा गएर मतदान गर्दैछन् । यहाँको आठ लाखभन्दा बढी जनसङ्ख्या रहेको यस जिल्लामा दुई लाख २७ हजार जनसङ्ख्या मतदाता परिचयपत्र छैन ।

यो जिल्लाको भौगोलिक तथा ऐतिहासिकस्थलमा मुलुककै सबैभन्दा होचो स्थान केचनाकलन, जमुनखाडी सिमसार क्षेत्र, दोमुखा, शहीद स्मारक पार्क, कलवलगुडी, कञ्चनगढ, वर्ने चिया बगानलाई लिइन्छ । यही मंसिर २१ गते हुने निर्वाचनमा राजनीतिक दलले यिनै ऐतिहासिक तथा पर्यटकीय स्थललाई देखाएर निर्वाचनमा भोट माग्ने र यहाँको मुख्य पेशा कृषि भएकाले यस पेशालाई आधुनिकीकरण गर्ने बताएका छन् । राजनीतिक दलका नेताले भौतिक पूर्वाधार तथा औद्योगिक विकासलाई पनि जोडतोडका साथ जनतासमक्ष पेश गरेका छन् ।

यहाँ मुख्य बसोबास रहेको सतार, धिमाल, मेचे, मुण्डा, राजवंशी, जनगाई तथा झापा जिल्लामा मात्रै बस्ने ‘किसान’ जनजातिका नाममा पनि यहाँका उम्मेदवारले आफ्ना राजनीतिक भाषण तथा चुनावी पर्चामा राख्दै आएका छन् । राजनीतिक दलका नेताले जेजस्ता भाषण दिए पनि यहाँका जनताले स्वतन्त्र एवम् मुलुकको नेतृत्व गर्ने क्षमतावान् नेतालाई मत दिएर विजयी बनाउने सुरमा देखिएका छन् । संगठितभन्दा पनि सक्षम नेतृत्वको खोजीमा रहेको मेचीनगर बस्दै आएका ७६ वर्षीय प्रेमबहादुर कटुवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोट दिनुपर्छ, आफ्नै पार्टीको उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने छैन ।”

उहाँका अनुसार सुकुम्बासीका लागि व्यवस्थित बसोबास, कल्भर्ट, पुल, पक्की बाटो, शिक्षा, स्वास्थ्य झापा जिल्लाका जनताको खास माग होइन । यहाँका जनता खासगरी उच्च शिक्षा र जटिल रोगको निदानका लागि सीमा पार नै जाने गरेका छन् । इलाम र मोरङ जिल्ला तथा यस जिल्लाका १७ वटा स्थानीय निकाय भारतसँग जोडिएका छन् । त्यसैले यहाँका वासिन्दा शिक्षा र स्वास्थ्य सीमा भारततिर भर पर्दै आएका छन् । आफूले लामो समयदेखि लागेको पार्टीका नाम नलिईकन कटुवाले पुनः भने, “मेरो पार्टी त छँदै छ नि, भोट त काम गर्नेलाई पो दिने हो ।” उहाँजस्तै यहाँका नवयुवाको आवाज पनि यसपटक नयाँ अनुहारलाई नेतृत्वमा पु¥याउने रहेको छ । राजनीतिक आबद्धता र मतदान फरक विषय हो, सोही आधारमा मतदान हुने उनीहरु बताउँछन् ।purbrlinews
हामी राजनीतिमा दिन आएका हौं, लिन होइन
यो सानो कुरा हो तर पनि हामी तीनै जनाले निर्वाचनमा विजयी भएको खण्डमा आफूले पाउने तलब काठमाडौं क्षेत्र नम्बर १ का संघसंस्था र परोपकारी गतिविधिमैं खर्च गर्ने निर्णय गरेका छौं।
यो पोस्टर र प्रदेशसभाका उमेदवारको परिचय काठमाडौं क्षेत्र नं १ का सबै मतदाता कहाँ पुगोस् भन्ने चाहान्छु। क्षेत्र नं १ मा तपाईंका आफन्त या साथीभाइ कोही छन् भने यो सन्देशलाई श्यर गरिदिन हुन हार्दिक आग्रह गर्दछु।
समिक्षा बास्कोटा: अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेपछि ‘डिन्स फेलो’ मनोनित भई केही समय त्यहीँ काम गरेर आफ्नै देशमा केही गर्ने चाहानाले सन् २०१० मा नेपाल फर्किएकी बास्कोटाले केही समय एउटा बैंकको कानुनी शाखामा काम गरिन्। तर त्यहीँमात्र आफूलाई सिमित राख्न नचाहेपछि उनले आफ्नै ल र्फम दर्ता गर्नुका साथै विभिन्न शैक्षिक संस्थाहरूमा शिक्षण तथा प्राज्ञिक कार्यमा संलग्न भइन्। त्यसैबीच उनले आफ्नो बुवाले साडे तीन दशकअघि शुरू गरेको चिया तथा अन्य कृषिजन्य वस्तुको उत्पादन तथा बजारीकरणमा लागिन्। संभवत: बाल्यकाल पारिवारिक राजनीतिक पृष्टभूमिकै वरीपरी ग्रुजिएको हुनाले उनको पनि राजनीतिमा विशेष लगाव छ र उनी राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति हो भन्नेमा विश्वस्त छिन्।
पुरूषोत्तम ढुंगेल: विद्यार्थीकालदेखि नै राजनीति शुरू गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट काठमाडौं आएपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०६२/६३ सालको जनआन्दोलनताका वडा नम्बर ३४ (हाल ३१) मा नेपाली काँग्रेसको जनआन्दोलन परिचालन कमिटीका संयोजक थिए। तर पुरानो राजनीतिबाट दिक्क भएका ढुंगेलले वैकल्पिक राजनीतिको रूपमा विवेकशील साझा पार्टी अगाडि आएपछि आशावादी हुँदै आफ्नो आवद्दता परिवर्तन गरेका थिए। राजनीतिबाट लिने होइन, दिनु पर्छ भन्ने उनको विश्वास रहेको छ। रबिन्द्र मिश्रको facebook बाट
सर्लाहीको रामनगर गाउँपालिकामा अपरिचित मानिसले गोली प्रहार गर्दा एक महिला गम्भीर भएकी छिन् ।

श्रीमान र बच्चासँगै रहेका बेला आज बिहान करिव साँढे ४ बजे तिर रामनगर गाउँपालिका– ४ बहुअर्बा टोल बस्ने ३० वर्षीया गिरिजा कुमारी साहलाई गोली लागेको हो ।
 ढोका माथीको प्वालबाट साहका परिवार सुतिरहेको कोठामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गिरिजा कुमारी बाहेक परिवारका अन्य सदस्य सकुसल रहेका छन् ।
 बाँया छातीमा गोली लागेर गम्भीर भएकी महिलालाई सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनु भयो । 
महिला माथी गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन् । गोली प्रहार गर्ने समूहको खोजी र घटनाको विषयमा अनुसन्धान भैरहेको डिएसपी थापाले बताउनु भयो । तीन दिन अघि मात्रै सदरमुकाम मलंगवाका एक व्यापारीमाथी सीमावर्ती बजारमा गोली प्रहार भएको थियो ।



काठमाडौँ, २५ चैत । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले मूल्य निर्धारण समितिको कारण इन्डक्सन चुलो बिक्री हुन नसकेको जनाएको छ ।
उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले नाकाबन्दीका समयमा चीन सरकारबाट अनुदानस्वरुप आएको इन्डक्सन चुलो मूल्य निर्धारण समितिले बढी मूल्य तोक्दा बिक्री नभएको ठहर गरेको छ ।

उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले चीन सरकारले नाकाबन्दीको समयमा दिएको अनुदानलाई अन्य अर्थ लगाएर मूल्य निर्धारण गरिनुका साथै समिति जिम्मेवार र उत्तरदायी नदेखिँदा बिक्रीमा समस्या आएको बताउनुभयो । अनुदानस्वरुप आएको इन्डक्सन चुलोलाई आपूर्ति मन्त्रालय, नेसनल ट्रेडिङ लिमिटेडलगायत सरोकारवाला संस्था बसेर मूल्य निर्धारण प्रक्रिया अगाडि बढाउन उहाँले निर्देशनसमेत दिनुभयो ।

सांसद अनारकली मियाले जिम्मेवार निकाय जिम्मेवार नहुँदा इन्डक्सन चुलो बिक्री हुन नसकेको बताउनुभयो । उहाँले जिम्मेवार निकायसँग सत्यतथ्य बुझी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद रामवीर मानन्धरले जनतालाई सहुलियत मूल्यमा सामग्री उपलब्ध गराउने संस्था नेसनल ट्रेडिङ लिमिटेड नै कमाउ धन्दामा लागेको आरोप लगाउनुभयो । सांसद राज्यलक्ष्मी श्रेष्ठ, विश्राम चौधरी, महेन्द्र शेरचन, मोतिलाल भण्डारीलगायतले अनुदानमा आएको सामानलाई बिना छलफल अत्याधिक मूल्य लिएको भन्दै आपत्ति जनाउनुभयो ।

मूल्य निर्धारण समितिले अनुदानमा आएको इन्डक्सन चुलोको प्रतिगोटा मूल्य रु ११ हजार ९९५ निर्धारण गरेको थियो । आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्द पौडेलले चुलो अनुदानमा दिए पनि अत्याधिक भन्सार र सवारीसाधन भाडाका कारण महँगो परेको बताउनुभयो । उहाँले अनुदानमा आएको सामान अर्थ मन्त्रालयले भन्सार छुट गरिदिएको भए सस्तो मूल्यमा बिक्री गर्न सकिने स्पष्ट पार्नुभयो ।

अर्थ मन्त्रालयका प्रतिनिधिको अनुपस्थितिका कारण अर्को बैठक अर्थ मन्त्रालयका प्रतिनिधिसहित आगामी बैठक चैत २७ गते बस्ने उपसमितिले जनाएको छ । रासस





पथरी (मोरङ), २५ चैत । एउटी महिलाका सन्तान ४५ जना छन् भन्दा कसैले पत्याउँदैन । तर उर्लाबारीकी मीना बरालका भने ४५ जना सन्तान छन् ।

तर मीनाले ती ४५ सन्तान आफूले जन्माएका भने हैनन्, सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका उहाँले निर्वाह गरिरहनुभएको छ ।

सुरुका दिनमा बालगृह सञ्चालन गर्दा ‘कमाइखाने’ भाँडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भनेर चिन्ता लागेको थियो । तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणीय महिलासमेत बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, “अहिले सुरुमा विरोध गर्नेले अहिले मलाई सकारात्मकरूपमा लिएका छन् ।” मीनाले कसैको सहयोगबिना नै १६ वर्षअघि आठ अनाथ बालबालिकालाई आफ्नै घरमा लगेर पाल्नुभयो ।

हाल मीना अध्यक्ष रहेको नमुना बालगृहमा ४५ बालबालिका छन् । वैवाहिक जीवनको सुरुआतबाटै दुःखकष्ट बेहोर्नु परेपछि बाँकी जीवन अनाथका लागि सुम्पने निर्णय गर्नुभएकी मीना अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय र प्रशंसनीय महिला बन्नुभएको छ ।

यो क्षेत्रमा अहिले उहाँको कामको प्रशंसा नगर्ने व्यक्ति कमै भेटिन्छन् । २०५७ सालमा सात अनाथ बालबालिकालाई घरमा ल्याएर पाल्न सुरु गर्नुभएकी मीनालाई अहिले स्थानीय १४ महिलाले सहयोग गरिरहेका छन् । उहाँले २०५७ साल साउन १९ गते महिला विकास केन्द्र र बालबालिका चेतना केन्द्रका रूपमा नमुना शिक्षा सदन दर्ता गर्नुभएको थियो ।

उर्लाबारी, राजघाट, पथरी, दमकलगायत क्षेत्रका मानिसबाट सहयोग उठाएर सुरुका दिनमा सञ्चालन भएको यस संस्थामा हाल रु तीन करोडभन्दा बढी सम्पत्ति जम्मा भइसकेको छ । उर्लाबारी–४ स्थित यस संस्थाको नाममा १७ कट्ठा जग्गासहित २२ कोठे भवनसमेत बनिसकेको छ ।

मुगु, भक्तपुर, धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथरलगायत २० जिल्लाका नर्सरीदेखि बाह्र कक्षासम्म पढ्ने बालबालिका यस संस्थामा छन् । रासस



गुलरिया (बर्दिया), २४ चैत । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् ।

बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन् ।

हिजो दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुबा राजु श्रेष्ठले बताउनुभएको छ । उनी श्रेष्ठका जेठा छोरा हुन् ।

बालक नदीमा खसेको खबर पाउनासाथ आफूहरु घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक थापा र शसस्त्र प्रहरी बल राजापुरका सहायक निरीक्षक मानबहादुर चौधरीको नेतृत्वमा खटाइएको टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेको र अहिलेसम्म फेला पार्न नसकेको बताइएको छ । रासस
काठमाडौँ, २१ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।

पूर्वप्रहरी कर्मचारी परिषद्द्वारा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रशासक, सुरक्षाविद्लगायतले स्थानीय चुनावमा स–साना राजनीतिक विषयमा पनि झैझगडा हुनसक्ने हुँदा मुलुकको सीमा र सार्वभौमिकता रक्षा तथा         नागरिकको सुरक्षामा संवेदनशील हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले विगतको अनुभव तथा विभिन्न मुलुकका अभ्यासलाई अवलम्बन गरी निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनुपर्ने बताउनुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लोकतन्त्रलाई जीवन्तता दिने तथा मुलुकलाई निरङ्कुशतातर्फ जानबाट रोक्ने विधि भनेको आवधिक निर्वाचन हो भन्दै सरकार तथा राजनीतिक दल निर्वाचनका लागि सकारात्मक भई अगाडि बढेको अवस्थामा सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वगृहसचिव अनन्तराज पाण्डेले निर्वाचनका लागि आवश्यक उपकरण तथा कस्तो सुरक्षा व्यवस्थाको आवश्यक छ, त्यसकाबारेमा भएका चुनौती समयमै सरकारलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

पूर्वप्रहरी वरिष्ठ उपरीक्षक डा चूडाबहादुर श्रेष्ठले निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षाकर्मीबीच समन्वय गर्नुपर्नेमा जोडदिँदै सीमावर्ती इलाकामा कडाइ गरी घटनाको विश्लेषणका आधारमा सुरक्षा व्यवस्था अपनाउनुपर्ने सुझाव दिनुभयो ।

सहसचिव श्यामसुन्दर शर्माले निर्वाचन ठूलो र महत्वपूर्ण घटना भएकाले सुरक्षाको अनुभूति र भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको औँल्याउनुभयो ।

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंह, पूर्वप्रहरी नायब महानिरीक्षक डा कुलेश थापा र ठाकुरमोहन श्रेष्ठ तथा सञ्चारकर्मी कृष्णमुरारी भण्डारी र अश्विन पुडासैनीलगायतले जनताको अधिकारलाई विकेन्द्रीकृत गर्ने अवसरका रुपमा चुनावलाई लिनुपर्ने बताउँदै गैरआवासीय नेपाली तथा चुनावमा खटिने शिक्षक, कर्मचारी र सुरक्षा निकायलाई पनि मतदानको अधिकारको व्यवस्था गराइनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष रमेशबहादुर श्रेष्ठले निष्पक्ष चुनाव सम्पन्न गर्नका लागि नागरिक समाज, प्रबुद्ध समूह, सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो । रासस
फलेवास/उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि, वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने बताउनुभयो ।
मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव राप्रपाको पहिलादेखिकै एजेन्डा भएको र स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा आएको बताउँदै कतै चुनाव हुँदैन कि भनेर विचलित नहुन आग्रह गर्नुभयो ।

आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नुपर्ने संविधानलेनै व्यवस्था गरेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनावपछि अन्य दुईवटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने बताउनुभयो ।
उहाँले चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

मन्त्री थापाले सङ्घीयताको कार्यान्वयनसँगै मुलुकमा ७४४ स्थानीय तहबाट जनताले सेवा सुविधा लिन थालेको बताउँदै स्थानीय चुनावपछि सरकारको प्रत्यक्ष अनुभूत गर्ने बताउनुभयो । रासस


बैतडी, २० चैत । बैतडीमा आज विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

सिगास गाउँपालिका–३, डुङरीकी ३५ वर्षीया लालमती बोहरा, दशरथचन्द नगरपालिका–१० बुड्डाका ६० वर्षीय नरबहादुर चन्द र डिलाशैनी गाउँपालिका–३ का ५० वर्षीय वीरपल भुल मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

शनिवार राति घरनजिकै रहेको घट्टमा पिसानीका लागि गएकी लालमतीलाई आज बिहान मृत फेला पारिएको थियो । उनको बलात्कारपछि हत्या गरेको हुनसक्ने बताइएको छ । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

त्यस्तै, यही चैत १५ गतेदेखि सम्पर्कविहीन चन्दको शव आज घर नजिकै महाकाली नदी किनारमा सडेको अवस्थामा फेला परेको हो । त्यस्तै, भुल अनिरपानी भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

राजविराज, २० चैत । सप्तरीको छिन्नमस्ता गाविस–१ मा आगलागी हुँदा रु चार लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय बल्लु यादवको घरमा शनिबार मध्यराति आगलागी हँुदा अन्दाजी रु चारलाख ३० हजार मूल्यबराबरको क्षति भएको पीडितले बताएका छन् ।

लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक सल्किएको आगोले यादवको फुसको छानो भएको एउटा र बाँसको बेरा भएका चारवटा घर जलेर नष्ट भएका छन् ।

त्यस्तै, आगो निभाउने क्रममा छिमेकी मोहन सदा र कृष्ण सदाको घरसमेत भत्किएको प्रहरीले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा घरभित्र भएको सम्पूर्ण सामान, नगद रु ५० हजार गरी रु चारलाख ३० हजार मूल्य बराबरको क्षति भएको बताइएको छ ।

आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीयवासीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, सखडाले जनाएको छ । रासस
––––––––

काठमाडौँ, २० चैत । आफूले मागेको चुनाव चिन्ह नदिएको भन्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेको नयाँशक्ति नेपाललगायत राजनीतिक दलका नेताहरु पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले आयोग परिसरबाट नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेल, सांसद गङ्गा चौधरीलगायतका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेतालाई महानगरिय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उहाँहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउनुभयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र केही प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिले आफूहरुलाई चुनाव चिन्ह ‘आँखा’ दिनुपर्ने माग गर्दै आएको छ । तर आयोगले भने संसद्मा रहेका दललाई वरियतामा अगाडि राखेर पहिले प्रयोग गर्दै चुनाव चिन्ह दिने र अन्यलाई भने आयोगले नै चुनाव चिन्ह दिने जनाउँदै आएको छ । रासस
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा विस्तार भइरहेको पूर्व–पश्चिम जोड्ने बेनी–ताकम खण्डमा पहाडलाई छिचोल्दै बनाइएको सडक ।
कमल खत्री (म्याग्दी)  २० चैत — पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार हुनुपर्ने सडक अन्यत्रै सारिएको थियो ।

विसं २०६२ मा बेनीदेखि दरबाङसम्म पुगेको मोटरबाटोको ट्र्याक धारापानी, ताकम हुँदै अहिले मुनासम्म पुगिसकेको छ । पश्चिम म्याग्दी क्षेत्रमा विस्तार गर्ने गरी तोराखेतसम्म पुगेको सडकलाई तत्कालीन माओवादी पार्टीले सशस्त्र द्वन्द्वकै समयमा त्यहाँबाट विस्तार गरी दरबाङसम्म पुर्याएको थियो । ‘‘द्वन्द्वकै समयमा माओवादीले विकासका काम पनि सँगसँगै अगाडि बढाएको थियो, दरबाङसम्म सडक पुर्याउन जनताबाटै झन्डै ३० लाख चन्दा सङ्कलन गरी खर्च गरिएको थियो,” माओवादी केन्द्रका जिल्ला संयोजकसमेत रहेका पूर्वसांसद गोविन्द पौडेलले भन्नुभयो । मुनासम्म पुगेको सडकलाई ढोरपाटन हुँदै बागलुङको बुर्तिबाङमा जोड्न सके मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन सक्ने सम्भावना रहेको पूर्वसांसद पौडेल बताउनुहुन्छ ।

मालढुङ्गादेखि बागलुङ हुँदै बुर्तिबाङसम्मको सडकको दूरीभन्दा बेनी–दरबाङ–मुना–ढोरपाटन हुँदै बुर्तिबाङ जोडिने दूरी झन्डै २० किलोमिटरले कम हुने भएकाले मध्यपहाडी लोकमार्गका सवारीसाधन म्याग्दी हुँदै ओहोरदोहोर गर्ने वातावरण सिर्जना गर्न सडकलाई सोही महत्वका साथ ट्र्याक विस्तार र स्तरोन्नति गर्नुपर्ने पौडेलको भनाइ छ । मुनादेखि ट्र्याक विस्तार गरी ढोरपाटन हुँदै बुर्तिबाङमा मध्यपहाडी लोकमार्गसँग जोडिन्छ भने ढोरपाटनबाट ट्र्याक विस्तार गरी रुकुमसम्म पनि जोडिने गरी योजना बनाइएको छ । हाल सडकको ट्र्याक विस्तार भएको मुनासम्म नै हिउँदको समयमा सवारीसाधन सञ्चालनमा आउने गरेको भए पनि सडकको मर्मत र स्तरोन्नति नहुँदा बर्खाको समयमा नियमितजसो सवारी अवरुद्ध हुने गरेको छ ।

भौगोलिक रुपमा जिल्लाको पश्चिम क्षेत्रका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेटको अभावमा यो सडक अहिलेसम्म ओझेलमा परिरहेको छ । लोकमार्गकै वैकल्पिक सडकका रुपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म केन्द्रीयस्तरबाट यस सडकलाई महत्वका साथ नहेरिएको स्थानीयवासीको गुनासो छ । सडक विस्तारका लागि भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने देखिन्छ । तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताउनुभयो ।

हालै गृहगाउँ सिङ्गा तातोपानीमा आयोजित कार्यक्रममा उहाँले बेनी–दरबाङ–धारापानी–ताकम–मुना हुँदै ढोरपाटन सडकलाई बागलुङको बुर्तिबाङमा जोडेर सडकको स्तरोन्नति र कालोपत्र गर्न सके मध्यपहाडी लोकमार्गका सवारी म्याग्दी हुँदै ल्याउन सकिने बताउनुभएको थियो । “लोकमार्गले म्याग्दीलाई नछुँदा धेरै घाटा भएको छ, छोटो दूरी हुँदाहुँदै पनि प्राथमिकतामा नपर्नु दुःखद हो, अब आवश्यक बजेटको व्यवस्थापन हुन्छ, मध्यमहाडी मार्गको वैकल्पिक मार्गकै रुपमा यसलाई विकास गर्नुपर्छ,” उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले चालु आवमा यस सडकखण्डको विभिन्न योजनामा विनियोजन भएको बजेटको प्रभावकारी कार्यान्वयनमा जुट्न जिल्लास्थित सरोकारवालालाई आह्वानसमेत गर्नुभएको छ ।

यसै वर्ष बेनी–दरवाङ–धारापानी सडकखण्डको कालोपत्र र स्तरोन्नतिमा ८० करोड बजेट विनियोजन भइसकेको छ । सदरमु्काम बेनीदेखि दरवाङ हुदै ताकमको धारापानीसम्मको करिब २९ किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्रका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति दिइसकेको छ । “यो बहुवर्षीय योजना हो, अहिलेको बजेटले झन्डै १८ किलोमिटर कालोपत्र हुने देखिन्छ, यद्यपि यो योजनाको प्रक्रियागत काम भइरहेको छ, त्यो पूरा भएपछि अनुमानसहित ठेक्का प्रक्रिया अगाडि बढ्छ,” सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर चन्द्रेश्वर शाहले भन्नुभयो । निकै महत्वको पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिन थालिएको छ । यो वर्ष सडक विभागले डिभिजन कार्यालय बागलुङमार्फत नै कार्यान्वयन गर्ने गरी दरबाङ–देवीस्थान–ताकम–ढोरपाटन जोड्ने सडकमा रु चार करोड आठ लाखको योजना सञ्चालन गर्दैछ । पहिले रु आठ लाख मात्रै विनियोजन भएर आए पनि हालै चार करोड थप बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सो बजेटलाई मुनादेखि अगाडि नयाँ ट्र्याक निर्माणमा परिचालन गर्न स्थलगत भ्रमण गरी अनुमान गरिसकेको र छिट्टै विज्ञापन प्रकाशन गरी ठेक्का प्रक्रिया सुरु गरिने बताइएको छ ।

त्यस्तै जिविसमार्फत समेत दरबाङदेखि मुना हुँदै ढोरपाटन जोड्ने सडकलाई नै लक्ष्य गरी दुई योजना कार्यान्वयनको चरणमा रहेका छन् । जिविसबाट बेनी–दरबाङ–बिम–ताकम–लुलाङ–जलजला सडक योजनामा विनियोजित रु ६० लाख बजेटबाट म्याग्दीखोलादेखि ताकमसम्म नयाँ ट्र्याक निर्माण गरिने प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठले बताउनुभयो । ‘‘अर्को शीर्षकमा पनि रु ६० लाख नै बजेट छ, त्यसलाई पनि दलीय सहमतिमा संशोधन गरेका छौँ, योजना स्वीकृत भएर आयो भने यसै सडकमा नै उक्त बजेट पनि परिचालन हुन्छ,” जिल्ला इन्जिनियर श्रेष्ठले भन्नुभयो ।

बहुआयामिक सडक भएकाले नयाँ सडक विस्तारसँगै पहिलेको सडकको स्तरोन्नतिमा पनि जोड दिइएको श्रेष्ठको भनाइ छ । लामो समयदेखि कच्ची र जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन हुँदै आएको बेनी–दरबाङ सडकमा यो वर्ष भने धेरै योजना सञ्चालित छन् । सडकखण्डअन्तर्गत दुखु खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । जिविसले रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको हो । ठेक्का सम्झौता गरेको स्वच्छन्द गौचन निर्माण सेवा जेभीले कार्यक्षेत्रमा काम सुरु गरेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

विसं २०६७ मा सो स्थानमा मोटरेबल पुल निर्माण सुरु भए पनि डिजाइन गलत भएपछि रोकिएको थियो । पुरानो ठेक्का रद्द र पुन सर्वेक्षण गरेर पुल निर्माण हुन लागेको हो । त्यस्तै, बेनी–दरवाङ सडकअन्तर्गत फापरखेत र लाम्पाटाको पहिरो नियन्त्रणका लागि रु तीन करोड ९३ लाखमा ठेक्का सम्झौता भइसकेको छ । यी योजना बनेपछि बेनी–दरवाङ सडकमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

बेनी–दरबाङ सडक सञ्चालन भएपछि म्याग्दीलाई मात्रै होइन यसले बागलुङको पश्चिम भेगका नागरिकलाई समेत सुविधा पुगेको छ । दरबाङदेखि ओखरबोट–सोले हुँदै बागलुङको तमानसम्म सडक पहुँच विस्तार भइसकेपछि तमान र लामेलाका बासिन्दाले समेत यसै सडकलाई प्रयोग गर्दै आएका छन् । उनीहरुले आफ्नै जिल्लाको सदरमुकाम जानसमेत सोले–दरबाङ–बेनी हुँदै बागलुङ सदरमुकाम जाने भएकाले यो सडक उच्च महत्वको रहेको जनप्रिय मावि दरबाङका प्रअ दिवाकर सुवेदीले बताउनुभयो । अहिले पनि म्याग्दीको बेनी र दरबाङबाट तमान क्षेत्रमा यातायात सेवा सञ्चालन हँुदै आइरहेको छ । यसले पनि यो सडकखण्ड म्याग्दीका लागि मात्रै नभई बहुजिल्लाका लागि उपयोगी र आवश्यक छ भन्ने कुराको पुष्टि गर्छ । त्यसैले मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको ट्र्याक विस्तारसँगै सडकको मर्मत, स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा जुट्नुपर्ने देखिन्छ । रासस