म मेरी हजुरआमा र चुनाव — सुदिप अधिकारी

झापा जिल्ला गौरादह नगरपालिका अन्तर्गत पर्ने ग्वालडुब्बा गाउँको कथा हो यो । यो त्यसबेलाका वास्तविक भोगी र अहिले नयाँ मुखुण्डो ओढेका हरुको राजनीतिक चरित्रको कथा हो । कथाका पात्र– म, मेरी हजुरआमा र उल्लेखित दृष्यका भोगीहरु अहिले पनि जिबित नै छन् ।
   मेरी हजुरआमालाई त्यसैबेलादेखि अझ भनौ जन्मेदेखि नै न काँग्रेसबारे थाहा छ न त कम्युनिष्ट बुझ्नुभएको छ । तैपनि चुनावमा भोट हाल्न कहिल्यै छुटाउँनुभएन । त्यसबेला गाउमा बिजुली बत्ति नै थिएन । हरेक चुनावमा भोट माग्न नेताहरु घरदैलौ चाहार्दै हिड्थे अनि मेरी हजुरआमापनि त्यहि माग राख्नुहुन्थ्यो । भोटसँग बिजुलीको सौदा गरिरहनुभएको थियो त्यसैबेलादेखि मेरी हजुरआमा ।
      नेताज्यूहरुको आश्वासनबाट मेरी हजुरआमा खुसीले गद्गद् बन्नुहुन्थ्यो । ति नेताको बोलीमा यति मिठास र आत्मियता थियो जुन अहिले मेरी हजुरआमाले बर्णन गर्न सक्नुभएन । गाउँका सबैलाई काका–काकी, मामा–माइजु, दाजुभाई तथा दिदी बहिनीको साइनोले बोलाउँथे नेताज्यूहरुले ।
     २०४६ मा मेरो बुवापनि आन्दोलनमा होमिनुभएको थियो । म चाहि भर्खर १ बर्षको भएको थिए । त्यसपछि बहुदल आयो । केहि बुझेका जनता माझ पञ्चायत र त्यसबेलाका नेताज्यूहरुप्रति बितृष्णा चुलिएको थियो । मेरी हजुरआमा भन्नुहुन्थ्यो रे त्यसबेला लौं अब जनताको शासन आयो रे । अब विकासको मुल फुट्छ रे । देशबाट गरिबी समस्या हट्छ रे । गाउमा बिजुली बल्छ रे ।
     बिक्रम सम्बत २००४ देखि हुँदै आएको चुनाव २०१५, २०३६, २०३९, २०४४, २०४८, २०५१, २०५६, २०६४, २०७० हुँदै २०७४ सम्म आइपुगेको छ । यसबीचमा कति वटा स्थानीय चुनाव भए, मसँग लेखाजोखा छैन । तर हजुरआमा हरुले पाएको आशवासन धेरैपछि मेरा पालामा आईपुग्दा मात्र पूरा भयो । त्यसबेला टेलिफोनको तारसम्म देख्न नपाएकी मेरी हजुरआमाको हातमा अहिले मोबाएल छ । माईतीको अनुहार हेर्न र बोलेको सुन्न तिज पर्खनुपर्ने मेरी हजुरआमाको समस्या हटेको छ अहिले । हजुरआमाको हातमा भएको मोवाएलमा भजन बज्छ, माईतीको आवाज सहजै सुन्न पाउछिन मेरी हजुरआमा ।
       तर बहुदलमा पुराना उद्योग धन्दा पनि मासिए । गाउँको जग्गा बाँझियो । घरखेतको आलुको ठाउँ विकासे आलुले लिन थाल्यो । ट्वाक्क र तिख्खर लाग्ने लहरे गोलभेंडा, लसुन र प्याज पनि बिस्थापित भए । कोदो, मकै र फापरको ठाउँ वाईवाई, रारा र म्यागीले लिन थाले । रोजगारी थपिएला भन्नुको साटो झन् झन् मासिंदै गयो । मेरा साथीहरु अहिले धेरै बिदेश होमिए । मेरी हजुरआमाले भोगेका यि र यस्ता ब्यथा धेरै छन् । जुन मैले यहा उल्लेख गर्दा पढ्नेलाई घत त लाग्ला तर समय अपुग बन्छ ।
  चुनाव त बेला बेलामा भै नै रहेको छ, त्यो संविधानसभाको चुनाव होस् वा अरु। चुनावको बेला राजनीतिक पार्टिका नेताज्यूहरु मिठा, गुलिया र सुनौला आस्वासन बोकेर गाउँ गाउँमा डुल्ने क्रम रोकिएको छैन । बाँड्ने सपनाले रुप फेरेको छ । सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ । तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरी हजुरआमाको जीवनमा खासै अन्तर आएको छैन । हुन त मैले देखेको राजतन्त्र, लोकतन्त्र, गणतन्त्र पनि त उस्तै जस्तो देखिरहेको छु । यस्तो लाग्छ कि कुनै एउटा मदिराको बाहिरी बोतल फेरिएको छ भित्र पहिला जे थियो अहिले नी त्यहि नै छ । यस्तै यस्तै लागिरहेको छ मलाई र मेरी हजुरआमालाईपनि ।
      अहिले फेरि अर्को चुनावको कुरा चलिरहेको छ र यो लेख यसकारण लेखियो की मलाई फेरि मेरी हजुरआमाले अब चाहि के आश्वासन लिएर आउछन् नेताहरु भनेर सोध्नुभयो । मैले जवाफ दिन सकिन र पुराना कुरा खोतल्न थाले हजुरआमासँग । उहासँगको गन्थन मन्थनले यो लेखको जन्म भयो । म जस्ता धेरै नातीहरुका हजुरआमाको प्रश्न हो यो । म जस्ता थुप्रै नातीहरुले दिन नसकेको जवाफ अब नेताज्यूहरुकै मुखबाट फेरि चुनावी नारा सुन्न पाईने भएको छ । यसैमा म चाँहि ढुक्क छु ।  

0 comments:

Post a Comment