म आजभन्दा करीब २० बर्ष अघि जुन बेला स्नातकोत्तर अध्ययन गर्दै थिएँ, त्यहीबेलादेखि भारतका केही पत्रिकाहरुमा लेख्न थालें । पछि नेपाल आएर केही कलेजहरुमा अध्यापन गर्दै मेची अञ्चलको पहिलो रेडियो कञ्चनजंघा एफ एममा काम गर्ने मौका पाएँ । सानैदेखि रेडियोमा बोल्ने खुब रहर थियो । त्यही रहरले पनि होला मलाई रेडियोमै रमाउने मौका पाएँ । त्यसपछि दमकको पाथिभरा एफ एमसंगै विभिन्न स्थानीय अखबारहरुमा पनि काम गरें । अहिले रेडियो, छापा तथा अनलाइन माध्यमहरुमा काम गर्छु ।
२. पत्रकारितालाई तपाईंले के मान्नु भएको छ ?
पत्रकारिता मेरो जीवनको अंग जस्तै भएको छ । त्यस्मा पनि भनौं, शरीरकै अंग जस्तो भएको छ । जुन विना मानिस अपांग हुन्छ । त्यस्तै भएको छ । जतिबेला पनि समाचारकै विषयमा दिमाग चलिरहन्छ । यो एउटा आदर्शको पेशा हो । त्यस्मा पनि लेखिन्जेलको पेशा हो । लेख्न छोडेपछि यो पेशा सकिन्छ । त्यसैले लेखिरहन पनि जहिले पनि सक्रिय हुन जरुरी छ । प्रविधिको विकाससंगै पत्रकारिताले काँचुली फेरिरहेको छ । अब कुनै एउटा माध्यमको मात्र रहेन यो पेशा । व्यवसायिक बन्नका लागि पनि जति प्रविधिको विकास हुँदै गइरहेको छ, त्यति नै पत्रकारले आफूलाई प्रविधिमैत्री बनाउन जरुरी छ । यो पेशा समाज बदल्ने पेशा हो । आवाजविहीनहरुको आवाज उठाउने पेशा हो ।
३. सञ्चारकर्मीको हैसियतलाई जनमानसमा सफल अनि स्वच्छ बनाउन हामीले के गर्नुपर्छ ?
पत्रकारिता पवित्र पेशा हो, हुनुपर्छ । तर त्यो पवित्रता कहाँ छ भनेर खोज्नुपर्ने बेला आएको जस्तो लाग्छ मलाई । म आफैंलाई प्रश्न गर्न मन लाग्छ अचेल कि मैले त्यो पवित्रतालाई कतै अपवित्र बनाइरहेको त छुइन ? यो मेरो मात्र होइन, पेशागत मर्यादामा बस्नेहरु सबैले यस्ता प्रश्न गर्न थालेका छन् । मानिसहरुको सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोणमा किन नकारात्मकता आइरहेको छ ? त्यो केलाउन जरुरी भएको छ । धेरैले भन्छन्, ‘पत्रकारहरु आर्थिक प्रलोभनमा पर्छन्’ । यस्मा पत्रकारहरु मात्र होइन, मिडियाका सञ्चालक तथा पत्रकारलाई प्रलोभन देखाउनेहरु पनि दोषी छन् । यस्ता नकारात्मक सन्देश फैलाउने किसिमका कामबाट पत्रकारहरु अलग रहन सके पत्रकारको मर्यादा बढेर जाने देख्छु ।
४. पत्रकारिता भित्र राजनीतिक हाबी छ, यसको निवारण कसरी हुन्छ ?
राजनीति भनेको देशको मूल नीति हो । राजनीति विना पत्रकारिता संभव छैन । आम सञ्चारका माध्यमहरुमा राजनीतिका विषयलाई नै मुख्य विषयका रुपमा प्रस्तुत गरिने चलन हामीकहाँ छ । तर, यो होइन कि राजनीतिक दलको झण्डा मुनी बसेर पत्रकारिता गर्नु । पत्रकार सबैको हो । सबै राजनीतिक दल, संघसंस्था तथा सर्वसाधारण जनताको हुनुपर्छ, साझा व्यक्ति । विचार आफ्नो ठाउँमा छ । भोट कुनै दलका उम्मेद्वारलाई हालौंला । तर, समाचारका विषयमा हाम्रो भूमिका सन्तुलित हुन जरुरी छ । समाचारमा दल विशेषको झुकाव देखिनु हुँदैन ।
५. पत्रकारलाई कार्यक्रममा गएवापत खाम दिने परिपाटी ठिक कि बेठिक ?
यो बेठिक हो । तर, हामीकहाँ आमसञ्चारका माध्यम यति धेरै छन् कि तिनले आफ्ना कामदारलाई व्यवस्थित गर्न सकेकै छैनन् । भरसक निशूल्क काम लगाउन पाए हुन्थ्यो भनेजस्तो गर्छन् । अनि पत्रकारको ध्यान खाम तिर जान्छ । उसले पनि पेट पाल्न पर्छ । आमसञ्चार माध्यमका व्यवस्थापन पक्षले नै यो विषयलाई सोच्न जरुरी छ । पैसा दिन सके राख्ने नत्र किन पेशाको मर्यादा विगार्ने ? समाचार लेखेर व्यवसायिक बन्ने हो, नत्र पैसा कमाउनका लागि अन्य पेशा पनि छन् नि ।
६. अबका दिनमा पत्रकारले के के गर्नुपर्छ ?
सबभन्दा पहिला आफू मर्यादा बस्नुपर्छ । समाचारका विषयहरुमा ध्यान दिनुपर्छ । नयाँ नयाँ खोजका विषयलाई समाचारका विषय बनाउनुपर्छ । त्यसपछि मात्र नयाँ विषय जनतालाई दिन सकिन्छ । अबका दिनमा पत्रकार छापालाई मात्र, रेडियोलाई मात्र, टेलिभिजनलाई मात्र हुँदैन । जमाना मल्टिमिडियाको छ । अनलाइन माध्यमको छ । अनलाइनमा सबै कुरा अटाउनुपर्ने हुन्छ । मानिसले सूचना छिटो प्रवाह चाहन्छ । त्यसैले अब एउटै पत्रकार सबै कुरामा पोख्त हुन जरुरी छ ।
७. सञ्चार जगतको विकासको लागि राज्यबाट कस्तो नीति बन्न आवश्यक छ ?
विगतका नीतिसंग वर्तमानको नीति तुलना गर्ने हो धेरै उदार नीति राज्यले बनाएको छ । सूचनाको हक, पत्रकारहरुको पारीश्रमिक लगायतका नीति नराम्रा छैनन् । तर, अहिले पनि छापा तथा विद्युतीय सञ्चारमाध्यमलाई अनुदान लगायतका विषयमा नीति विभेदकारी छ । धेरै उदार नीति पनि राम्रो हुन्न । अराजकता ल्याउँछ । नीति उदार चाहिन्छ तर, कानूनको खिल्ली उढाउने किसिमको क्रियाकलापलाई प्रोत्साहन गर्ने होइन । संख्यामत बृद्धिलाई निरुत्साहित गर्दै गुणात्मक बृद्धिका लागि सरकारी नीति चाहिन्छ ।
८. आम सञ्चार माध्यमलाई राज्यले दिएको सुविधाबारे के भन्नुहुन्छ ?
आमसञ्चारका माध्यम स्वतन्त्र ढंगले चल्नुपर्छ भन्ने आम मान्यता छ । यदि स्वतन्त्र हुन् भने राज्यको सुविधाले राज्य परस्त बनाउँछ । त्यस्ले स्वतन्त्रतालाई परास्त गर्छ । सञ्चारमाध्यम आफैं बलियो हुनुपर्छ । सरकारी सुविधाले मात्र सञ्चार माध्यम बलियो हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ ।
९. अन्तमा तपाईंलाई आदर्शको रुपमा लिने तपाईंका शुभचिन्तक तथा सञ्चारकर्मी सहयात्रीहरुलाई के भन्न चाहनुहुन्छ ?
पत्रकारिता जस्तो आदर्श र मर्यादित पेशालाई धमिल्याउने प्रयास हामी कसैबाट हुनुहुँदैन । व्यवसायिकताको विकासले मात्र हामीलाई दक्ष बनाउँछ । त्यस्का लागि अध्ययन जरुरी छ । देश विदेशमा प्रविधिका विकासबारे जान्न जरुरी हुन्छ । जनताको कुरा लेखौं । प्रलोभनमा नपरौं । दुरुपयोग गर्ने कोशिस गर्नेलाई परास्त गर्न जरुरी छ । निडर पत्रकारिता आजको आवश्यक्ता हो ।
(अनलाईन युवाका लागि सुजता निङ्गलेकु)
0 comments:
Post a Comment