झापाका मुख्य शहर बजारमै छैनन् जेब्रा क्रस
On Tuesday, March 21, 2017
झापा — सडक डिभिजन कार्यालय दमकले राजमार्गमा जेब्रा क्रस नबनाइदिँदा शहरी क्षेत्रमा बाटो काट्ने पैदल यात्रीले सास्ती व्यहोर्नु परिरहेको छ । खास गरी झापामा पर्ने राजमार्गहरुमा विगत लामो समयदेखि सडक डिभिजन कार्यालय दमकले जेब्रा क्रस बनाइदिएको छैन । जसका कारण पैदल यात्रुले जताततैबाट बाटो काट्दा दुर्घटनाको जोखिम बढेर गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापाको दमक चोक वरपरका जेब्रा क्रस भने सडक डिभिजन कार्यालय दमकले बनाइदिएको छ । त्यस्का अतिरिक्त सुरुंगा, दर्गापुर, चारपाने, विर्तामोड, चारआली, धुलाबारी, काँकरभिट्टा लगायतका क्षेत्रमा सडक डिभिजन कार्यालयको आँखा परेकै छैन । अहिलेसम्म जति बनाइए सबै ट्राफिक प्रहरीले स्थानीय व्यापारी तथा सर्वसाधारणसंग सहयोग मागेर बनाइरहेको छ । झापाको सुरुंगा बजारमा केही दिन अघि त्यहाँका स्थानीय व्यवसायीसंग सहयोग मागेर जेब्रा क्रस बनाइएको ट्राफिक प्रहरी प्रमुख ढुण्डिराज गिरीले बताए । त्यसैगरी झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा पर्ने पूर्व पश्चिम राजमार्गका आठ स्थानमा पनि सहयोग मागेरै जेब्राक्रसको निर्माण गरिएको उनले बताए । उनका अनुसार धुलाबारी तथा काँकरभिट्टामा पनि सहयोगले जेब्राक्रस बनाइएको छ । पूर्वमा धेरै स्थानमा जेब्रा क्रस नहुँदा बजार, अस्पताल, विद्यालय तथा अन्य अति संवेदनशील क्षेत्रका मानिसहरु प्रभावित भएको भन्दै गत माघ २ गते पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयलाई यथाशीघ्र जेब्राक्रस बनाउने काम गरिदिन आग्रह समेत गरेको छ । ट्राफिक प्रहरीले केही समयपछि आयोजना गरिने एक महिने ट्राफिक सचेतना कार्यक्रमसम्म जेब्राक्रस बनाइसक्न पूर्वाञ्चल सडक निर्देशनालयलाई आग्रह गरेको छ । ट्राफिक प्रहरीले रंग अनुदान सहयोगमा बनाइएका जेब्राक्रस लामो समय टिक्ने गरेको छैन । बनाएको एक सातामा त्यस्को संकेत पनि नदेखिने गरि मेटिने गरेको छ । झापाका ट्राफिक प्रहरी प्रमुख ढुण्डिराज गिरी भन्छन्, ‘जेब्राक्रस बनाउने काम हाम्रो हुँदै होइन । तर त्यो नहुँदा हाम्रो काममा बाधा पुग्छ । त्यसैले सहयोग जुटाएर भए पनि बनाउने गरेका हौं । तर हामीले बनाएको धेरै दिन टिक्ने अवस्थामा रहँदैन ।’ सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवका अनुसार अहिले राजमार्गमा रिफिलिङ गर्र्ने काम भइरहेकोले जेब्राक्रस नबनाइएको हो । अहिले नै बनाए रिफिलिङमा मेटिने उनको भनाई छ । उनले भने, ‘रिफिलिङको काम सकिने वितिक्कै हामी जेब्राक्रस बनाउछौं ।’ तर धेरै लामो समयसम्म बनाउन आग्रह गर्दा पनि सडकले नबाइदिएको ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ ।
0 comments:
Post a Comment