अन्ततः सरकारले नै एनालग प्रविधधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न थालेकाे छ । डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन सेवा बन्द गर्न सुरु गरेको हो । महानगरपालिका हुँदै उपमहानगरपालिका र नगरपालिकाहरुसम्म याे अभियान सञ्चालन हुने जनाइएकाे छ ।
सरकारले बुधबार ८ वटा एनालगमा चलिरहेका केबल टेलिभिजनको हेड-इन (कन्ट्रोल रुम) को ज्याक सिल गरेको सूचना तथा सञ्चार मन्त्रालयकी सह-प्रवक्ता संगीता ओझाले जानकारी दिइन् । योसँगै राजधानीका ८ वटा केेबल टेलिभिजन बन्द भएका छन् ।
बन्द हुनेमा सुबिसुको एनालग केबल टेलिभिजनका साथमा सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा रहेका छन् । उनले अबकाे केही दिनमै राजधानीमा एनालग टेलिभिजन सबै बन्द हुने र अनुगमन निरन्तर रहने बताइन् ।
नगरपालिकाहरु पनि अब एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ ।
एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।
एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्छ ।
तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्छ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।
केबल टीभी अपरेटरले भने आफ्नो हेड-इनमा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प छन् ।
पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिने विकल्प हो । अर्को भने आफैं हेड इनलाई डिजिटलाइज्ड गरेर सेवा थाल्ने हो ।
डिजिटल प्रविधिमा रुपान्तरणका लागि सबै टेलिभिजनमा सेट-टप बक्स जोडिनेछ । अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।
यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ ।livingwithict.com बाट
0 comments:
Post a Comment