उमाकान्त खनाल, एउटा जमानामा रेडियोमा बोल्ने मान्छे पक्कै ‘मुसा’ आकारका हुन्छन् होला भनेर सोचिन्थ्यो । त्यसमाथि पनि रेडियो नेपाल बाहेक अरु रेडियो सुन्ने त कल्पना पनि हुँदैनथ्यो ।
जुन बेला प्रवीण गिरी, सुमन खरेल रेडियो नेपालमा समाचार पढनु हुन्थ्यो त्यो बेला म खुब उहाँहरुको नक्कल गर्थें । अनि घरमा बेलुका सात बजेको समाचार पढन को आउँछ भनेर बाजी पनि मारिन्थ्यो । कोही म जित्थें कोही बेला अरुले ।
स्नातकोत्तर अध्ययन पश्चात धुलाबारी क्याम्पसमा अध्यापन गर्न भनेर त्यहाँ गएँ, त्यसबेलाका मेचीनगर नगरपालिकाका उपमेयर चन्द्र भण्डारीसंग भेट भयो ।
उहाँले विर्तामोडमा रेडियो स्थापना हुँदै गरेको कुरा बताउनु भयो ।
जीवनमा मेरो दुईवटा ठूला इच्छा थिए । एउटा रेडियोमा समाचार भन्ने र अर्को पढाउने । पढाउने काम करीब २० बर्ष गरेर कार्य व्यस्तताका कारण छाड्नुपर्यो । तर रेडियो जीवनको एउटा अभिन्न अंग बनेको छ । मैले आजको दिनमा भन्नुपर्छ मलाई रेडियोमा प्रवेश गराउने र रेडियो पत्रकार बनाउने श्रेय चन्द्र भण्डारीलाई नै जान्छ ।
करीब २०५८ सालतिरको कुरा हो । जब मैले कञ्चनजंघा एफएममा कार्यक्रम निर्देशकको भूमिका पाएँ त्यसबेलादेखि मैले रेडियो प्रशारणको मात्र नभएर व्यवस्थापकको भूमिकामा रहें । मैले जे जति अहिले सिकेको छु त्यस्मा ५० प्रतिशत भन्दा ज्यादा कञ्चनजंघा एफएममा सिकेको छु ।
हरेक मानिसमा केही न केही गर्ने र भरसक धेरै मान्छेले चिनुन् भन्ने चाहना हुन्छ । चाहना राख्ने सबै मान्छे व्यवसायिक बन्न सक्दैनन् । यो यथार्थ पनि हो । मैले चाहना राखें, बल्ल तल्ल व्यवसायिक बन्ने कोशिस गरिरहेको छु । रेडियोमा काम गर्ने चाहना राख्नेहरुलाई तालिम दिँदा म भन्ने गर्छु – रहरले मात्र हुँदैन, मेहेनत गर्ने बानी छैन भने व्यवसायिक बन्न सकिँदैन ।
रेडियोबाट सूचना लिने र दिने काम सहज छ । प्रशारण गरिदिए स्रोता कहाँ सजिलै पुग्छ । स्रोताले पनि कुनै खर्च नगरी सूचना प्राप्त गर्छन् । तर सूचना प्रशारणको प्रणाली र सामाग्री उत्पादनमा भने अझै थुप्रै काम गर्न बाँकी छन् । प्रशारणको स्तर अझै बढाउन बाँकी छ ।
रेडियोकर्मीका कुरा पनि व्यवस्थापनले सुन्नुपर्छ । रेडियोमा काम लगाउने र पैसा नदिने बिकृतिका कारण धेरै रेडियोकर्मीहरु कार्यक्षेत्रबाट पलायन हुनुपर्ने अवस्था छ । कम्ती उनीहरुलाई हात मुख जोड्नेसम्मको वातावरण रेडियोका व्यवस्थापनले बनाइदिनै पर्छ ।
नेपालमा छ सय भन्दा बढी रेडियोहरु खुलेका छन् । तर एउटाले खोलेर अलि प्रगति गरेपछि अर्काको आँखा बलेर अर्को खोलिहाल्ने परिपाटीले रेडियोको भविष्य राम्रो देखिएको छैन । यसमा मुख्य दोष सरकारलाई नै जान्छ । किनभने सरकारले रेडियो स्थापनाको मापदण्ड बनाइदिएन, जसका कारण रेडियोको गुणात्मक बृद्धि भन्दा संख्यात्मक बृद्धि मात्र भयो ।
तर रेडियोका व्यवस्थापन र सरकारलाई मात्र दोष दिएर पुग्दैन । हामी कामदार पनि उत्तिकै दोषी छौं । हामीले मेहेनत गर्न जानेनौं । रेडियोमा बोल्न ठूलो कुरा होइन । तर सामाग्री उत्पादन गर्ने कुरामा हामी पछि पर्यौं ।
म एउटै कुरा दिमागमा राखेर काम गर्छु । त्यो हो – रेडियोकर्मी व्यवसायिक बन्ने हो भने अन्य रेडियोको प्रशारण सुन्नैपर्छ ।
मैले रेडियोका हस्ति ठानेकाहरुसंगै काम गर्ने मौका समेत पाएँ । उहाँहरुको कुरा सँधै मननीय छन् मेरा लागि । आफूले बुझ्ने गरि होइन, स्रोताले बुझ्ने गरि सामाग्री निर्माण गर्न जरुरी छ । मलाई पच्छ्याइरहेका केही साथीहरुले अथक मेहेनत गरिरहनु भएको छ । समय परिवर्तन संगै प्रशारणका शैली पनि परिवर्तन हुँदै जान्छन् । अध्ययन् गर्नुहोस, पक्कै व्यवसायिक बन्न सकिन्छ । यतिखेर म कञ्चनजंघा एफएम, पाथिभरा एफएम तथा बीबीसीका तमाम साथीहरुलाई सम्झन चाहन्छु जसले मलाई सँधै रेडियोमा टिकिरहन हौसला दिनुभएको छ।
0 comments:
Post a Comment